विधिविज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल
काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरू डा. वेदुराम भुसाल, गोपाल भट्टराई, सुरेशकुमार आले मगर, डा. अन्जान शाक्यलगायतले विधि विज्ञान प्रयोगशालामा निष्पक्ष, स्वतन्त्र र प्रयोगशाला विज्ञ व्यक्तिलाई कार्यकारी निर्देशकमा चयन गर्न सकिने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले कार्यकारी निर्देशकको सेवा सुविधा विधेयकमै उल्लेख गरिनुपर्नेमा जोड दिँदै उच्च नैतिकता भएको र फौजदारी अभियोगको सजाय नपाएको व्यक्तिलाई प्रयोगशालामा जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले न्याय सम्पादनका लागि कुनै पनि जीव वा निर्जीव तथा रासायनिक वस्तुको वैज्ञानिक परीक्षण गर्न समयानुकूल कानुन आवश्यकता महसुस गरेर सरकारले विधेयक ल्याएको बताउनुभयो ।

बैठकमा समितिका सभापति तुलसाकुमारी दाहालले न्याय सम्पादनका लागि थप वैज्ञानिक र विश्वसनीयता परीक्षण गर्नका कानुनी व्यवस्था गर्नलागि बन्न लागेको कानुनमा विस्तृत छलफल हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्