‘सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्ध नेपाली सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल मोरङद्वारा विराटनगरमा आज आयोजित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ बनाउने गरी पत्रकारहरूले कलम चलाउनुपर्ने बताउनुभयो ।
उहाँले कोशी प्रदेश सरकार गर्त आर्थिक वर्ष आन्तरिक राजश्व चार अर्ब ८९ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको र यो अघिल्लो आर्थिक वर्ष भन्दा सात दशमलव पाँच प्रतिशतले वृद्धि भएको जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकारिता क्षेत्रमा गरिने यस्तो सम्मानले पत्रकारलाई काम गर्न थप ऊर्जा मिल्ने बताउनुभयो ।
प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापा र प्रेस चौतारीका मोरङ इन्चार्ज सुमन सुस्केराले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न प्राविधिक ज्ञानका तालीम आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट कोशी प्रदेश पत्रकार महासङ्घका कोषाध्यक्ष सुदिप कोइरालालाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
सो पुरस्कारबाट यस अघि मोरङमा कार्यक्षेत्रमा बनाई काम गर्दै आएका १७ जना सञ्चारकर्मी सम्मानित भइसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्