तपाईँ सुन्दै हुनुहुन्छः

‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर सञ्चालन गर्छौँ : श्रम मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताउनुभएको छ । 

आज मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै मन्त्री भण्डारीले पोर्टलमा आपत्कालीन सहायताको व्यवस्थाबारे गरिने जानकारी दिनुभयो ।  श्रम संसार पोर्टलमा वैदेशिक रोजगारका क्रममा उद्गारको ‘मोड्युल’ तयारबारे उहाँले बताउनभयो । 

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताउनुभयो । कार्यक्रममा मन्त्री भण्डारीले यस पोर्टलले बेरोजगार व्यक्तिलाई शिक्षा, सीप  तथा दक्षता अभिवृद्धिका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले एकीकृत श्रम व्यवस्थापन पोर्टल श्रम संसारले रोजगारदाता (व्यक्ति वा प्रतिष्ठान)लाई श्रमिकसँग जोडनका साथै स्वरोजगारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यसले स्वरोजगारलाई समेत प्रवर्द्धन गर्नेछ । 

सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरूलाई ‘डिजिटल’ प्रविधिमा रूपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले आन्तरिक रोजगारको ‘रोडम्याप’ बनाउने काममा आयोग लागिपरेको बताउनुभयो । उहाँले ‘डिजिटल डिभाइट’बारे स्मरण गराउँदै पोर्टलको प्रयोग सबैले गर्न सक्ने बनाउनुपर्नेतर्फ पनि सचेत गराउनुभयो । 

यस पोर्टलमा अहिलेसम्म देशभरका ६८९ पालिका आबद्ध भएको मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा व्यवस्थापनका लागि डिजिटलाइजेसन कार्ययोजना (मस्यौदा)बारे मन्त्रीको श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले चर्चा गर्नुभयो । उहाँले पोर्टलमा स्वास्थ्य परीक्षण र अभिमुखीकरण, आर्टिफिसियल इन्टेलिजेन्स र वैदेशिक रोजगारका क्रममा उद्गारको मोडयुल तयार भएको जानकारी दिनुभयो । 

मन्त्रालय अन्तर्गतको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाले पोर्टलले श्रम बजारका सूचना अद्यावधिक र एकीकृत श्रम तथा रोजगार तथ्याङ्क व्यवस्थापन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button