तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाडौँ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको रजिष्ट्रार पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाश लिनुभएको थियो ।

बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह–रजिष्ट्रार मानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई सचिव बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

त्यस्तै सहसचिवहरू निर्मला अधिकारी भट्टराई र इन्दिरा दहाल भट्टराईलाई सचिवमा बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button