चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लब बराबरीमा रोकिए
काठमाडौँ । चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लब एन्फा यु–१६ यूथ लिगमा आइतबार २–२ को बराबरीमा रोकिएका छन् ।
यो नतिजासँगै ९ खेलमा १९ अङ्क जोडेको सङ्कटा दोस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज समान खेलबाट १४ अङ्कका साथ सातौँ स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजका लागि स्वप्निल दर्नाल र अप्सन गुरुङले गोल गरे । सङ्कटाका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे ।
आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली एपिएफ क्लबलाई ३–१ ले पराजित गरेको थियो ।
हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा यही साउनको अन्त्यमा हिमालय स्मृति अन्तर एकेडेमी फुटसल प्रतियोगिता हुने भएको छ ।
१२ वर्ष मुनिका खेलाडीहरू सहभागी हुने प्रतियोगिता साउन २५ गते स्वयम्भू रिक्रिएसन सेन्टरमा हुने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा उपत्यकाका विभिन्न फुटबल एकेडेमीका गरी १२ टिम सहभागी हुने प्रतियोगिताका संयोजक राजन न्यौपानेले जानकारी गराएका छन् ।
प्रतिक्रिया राख्नुहोस्