तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

रुकुमपूर्व। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, सेराबालुवामा सम्पन्न राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपाल पुलिसले एपीएफ क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

विजेता टिमले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले तीन लाख, तेस्रो स्थान हासिल गर्ने गण्डकी प्रदेशले दुई लाख र सान्त्वना स्थानमा रहेको मणि मुकुन्द भलिबल क्लबले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

साउन ४ गतेदेखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम पनि गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा रेशम छन्त्याल सर्वोत्कृष्ट खेलाडी घोषित भए । सुरेन्द्र केसी ‘बेस्ट स्पाइकर’, सरोज बर्देवा ‘बेस्ट सर्भर’, सुगम सुनार ‘बेस्ट ब्लकर’, भिम गाहा मगर ‘बेस्ट डिफेन्डर’, बलराम गुरुङ ‘बेस्ट सेटर’ र चन्द्र कुँवर ‘बेस्ट कोच’ घोषित भए ।

स्थानीयस्तरमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगिताले ग्रामीण क्षेत्रको खेलकुद विकासमा सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button