मकवानपुरमा एक वर्षमा सवारी दुर्घटनामा ५० जनाको मृत्यु
मकवानपुर । मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनामा परि ५० जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो अवधिमा भएका ९०७ वटा सवारी दुर्घटनामा १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार गत वर्ष अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, अवैध कारोबार नियन्त्रण, फैसला कार्यान्वयन तथा ट्राफिक व्यवस्थापनका अभियान सञ्चालन गर्दै १ हजार ७५ वटा मुद्दामा ९२८ जना अभियुक्त पक्राउ गरिएको छ । लागुऔषधसम्बन्धी मात्रै १८८ वटा मुद्दामा २८९ जना पक्राउ परेका छन् । तीमध्ये २७६ जना नेपाली र १३ जना विदेशी नागरिक रहेका छन् ।

यस अवधिमा प्रहरीले ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५ हजार २७१ थान ट्रामाडोल तथा नाइट्राभेटर ट्याब्लेट/क्याप्सुल, २ हजार ७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम खैरो हेरोइन बरामद गरेको उहाँले बताउनुभयो । लागुऔषध सम्बन्धी मुद्धामा ५५ वटा सवारी साधन नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार यस अवधिमा अवैध भन्सार छलि नियन्त्रण अभियानअन्तर्गत १६ करोड १७ लाख ७४ हजार २३ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । बरामद सामानमा १२ करोड १७ लाख २७ हजार ५०६ रुपैयाँ बराबरको ८ किलो ७३५ ग्राम सुन, ३ लाख ६६ हजार ५४९ रुपैयाँ बराबरको २ किलो १९६ ग्राम चाँदी, २ करोड ५९ लाख १९ हजार मूल्य बराबरका लत्ता कपडा र खाद्यान्न, ७० लाख ८१ हजार मूल्य बराबरका १० वटा सवारी साधन र ६२ लाख ९० हजार ३५ रुपैयाँ अवैध मुद्रा रहेका छन् ।
यस्तै सवारी कारबाहीतर्फ ३० हजार ३४ वटा कारबाही गरी २ करोड ४१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । यस्तै फैसला कार्यान्वयनतर्फ १८३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । भने, १ करोड २१ लाख ७३ हजार ८०५ रुपैयाँ जरिवाना असुल गर्नुका साथै ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको डिएसपी अर्यालले बताउनुभयो ।
त्यस्तै अवैध गिट्टी–बालुवा उत्खनन नियन्त्रण अभियानमा १९५ वटा कारबाही गरी १६२ ट्याक्टर, ३१ टिप्पर र २ एक्स्काभेटर नियन्त्रणमा लिइएको र ११ लाख १५ हजार ५०० रुपैयाँ बराबरको राजस्व सङ्कलन गरिएको छ । सो अवधिमा मापसेमा ८४४ जना र लागुऔषध सेवनमा २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । भने, प्रहरीले अवैध लागुऔषध खेती नियन्त्रण अभियानमा १२० बिगाहा ४ कट्ठामा लगाइएको गाँजा र ३९ बिगाहा १४ कट्ठामा लगाइएको अफिम नष्ट गरेको र यस अभियानमा ४२१ जना प्रहरी परिचालित गरिएको अर्यालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्