जोगबुढा इलाका प्रशासनमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका अन्तर्गत रहेको इलाका प्रशासन कार्यालय जोगबुढामा एक महिनादेखि कार्यालय प्रमुख नहुँदा नागरिकहरूले सास्ती भोग्नुपरेको छ ।

भित्री मधेस क्षेत्रका २ वटा पालिकालाई सेवा दिने उद्देश्यले परशुराम नगरपालिकाको जोगबुढामा सञ्चालन गरिएको इलाका प्रशासन कार्यालयमा महिनौँदेखि कार्यालय प्रमुख नहुँदा स्थानीयहरूले निकै समस्या झेल्नुपरेको गुनासो आएको छ ।
नागरिकता, राहदानी सिफारिस, जग्गा सम्बन्धी कामकाज र अन्य आवश्यक सेवा लिन स्थानीयवासी जिल्ला सदरमुकाम धाउन बाध्य हुन थालेपछि व्यापक असन्तुष्टि हुन थालेको छ । उक्त कार्यालयबाट आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका नागरिक लाभान्वित हुँदै आएका थिए । गत जेठ २६ गते रञ्जित कुमार यादवलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जलेश्वर नगरपालिकामा सरुवा गरेपछि हाल कार्यालयमा सीमित कर्मचारी मात्र कार्यरत छन् ।
कार्यालयमा आठ जनाको दरबन्दी भए पनि हाल ५ जना मात्र कर्मचारी कार्यरत छन् । ती कर्मचारीले राष्ट्रिय परिचयपत्र वितरण र सामान्य पत्राचार बाहेक अन्य सेवा दिन असमर्थता जनाइरहेका छन् ।
डडेलधुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कर्मचारी अभावका कारण उत्पन्न समस्याका विषयमा मन्त्रालयमा पटक पटक जानकारी गराएको भए पनि तत्काल पठाउने आश्वासन आएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्