बागमती प्रदेशका मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई काँग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका प्रदेशसभा सदस्यहरूले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
शुक्रवार मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संसदीय दलमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

नेपाली काँग्रेस संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङलाई काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्ताव बुझाएको हो ।
काँग्रेस संसदीय दलको रेकर्ड अनुसार सो प्रस्ताव आव २०८२/०८३ दर्ता नम्बर ०२ मा दर्ता गरिएको छ । अविश्वासको प्रस्तावमा काँग्रेसबाट विजयी ३७ मध्ये २१ प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गर्नुभएको छ । संसदीय दलको नेताबाट हटाउन १९ सांसद चाहिनेमा २१ जनाले हस्ताक्षर गर्नुभएको छ ।
मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा काँग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ । पछिल्लो पटक फरक समीकरणमा २ पटक सरकारमा रहेको काँग्रेसबाट लामाले अर्थमन्त्री र मुख्यमन्त्री बन्ने अवसर पाए पनि प्रभावकारी कार्यसम्पादन गर्न नसकेको आरोप प्रस्ताव मार्फत लगाइएको छ ।
यसअघि आजै बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रवार राजीनामा दिनुभएको थियो । राजीनामा दिने चारै जना काँग्रेसबाट मन्त्री बन्नुभएको थियो । बागमती सरकारमा मुख्यमन्त्रीसहित काँग्रेसबाट सरकारमा ८ जना सामेल हुनुहुन्छ ।
तीमध्ये संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिनुभएको हो ।




प्रतिक्रिया राख्नुहोस्