आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताउनुभएको छ ।

आज यहाँस्थित सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औँ दिनको स्मृतिमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संविधान बहुलवादमा आधारित रहेकाले बदलिँदो समयको मागअनुसार संशोधन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको संविधान बहुलवादमा आधारित छ । संविधान संशोधनका विषयमा अहिले सबै क्षेत्रबाट आवाज उठिरहेका छन् । राष्ट्रियसभाको सभापति र उपसभापतिलाई राख्नुपर्छ भन्ने धारणा छ । त्यसैले आवश्यकताअनुसार संविधान संशोधन हुन्छ ।”
सभापति देउवाले देशमा चुनावका बेला नेपाल कम्युनिस्ट पार्टीजस्ता दलहरू फरक देखिए पनि व्यवहार र तहमा सबै प्रजातान्त्रिक शक्तिहरूले सहकार्य गर्दै आएको जानकारी गराउनुभयो । सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय शास्त्रीको काँग्रेस पार्टी देश र नागरिकका लागि निकै उल्लेख्य योगदान भएको भन्दै सभापति देउवाले उहाँको प्रशंसासमेत गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति विमलेन्द्र निधि तथा काँग्रेस नेता अर्जुननरसिंह केसीले अध्यक्ष स्व शास्त्रीले गर्नुभएका योगदानहरूको स्मरण गर्नुहुँदै उहाँको खुलेरै प्रशंसा गर्नुभएको थियो । शास्त्रीले जीवनभर काँग्रेसको सुदृढीकरण, लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदान उल्लेखनीय रहेको उहाँहरूको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्