तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण सम्पन्न भएको एक दिनमै उप्कियो कालोपत्रे सडक, स्थानीय आक्रोशित 

उदयपुर । असारे विकास निर्माण सम्पन्न गर्न हरेक वर्षको मसान्त अर्थात् असारमा निर्माण कार्य सम्पन्न गर्न सरकारी कार्यालय देखी ठेकदार कम्पनीसम्म कम्मर कसेर लाग्छन् ।

उनीहरूले हतारको काम लतर/पतर भने झैँ योजनाको पैसा सक्नकै लागी भए पनि असारमा भ्याइ-नभ्याई बिकास निर्माणको कार्यको चटारोमा जुट्ने गरेका छन् । जसका कारण राज्यको करोडौँको लगानी वर्षासँगै आएको बाढीमा बग्ने गरेको छ ।

यसकै एउटा उदाहरण बनेको छ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ४ को कालोपत्रे सडक । संघीय सरकारको निर्वाचन क्षेत्र विकास कोष अन्तर्गतको ६८ लाख ६३ हजार ५७७ रुपैयाँ बजेट विनियोजन गरेर स्थानीय चटपटे टोल, बसाहा थान, बर्षेडांडा, गँगटे, माडिवास हुँदै बेल्टार जाने सडक खण्डको चटपटे टोल एरियामा झन्डै ४ सय ९० मिटर कालोपत्रे सडक निर्माणको जिम्मा सिताराम कन्ट्रक्सन बेल्टारले गएको वैशाख १२ गते सम्झौता गरी कामको जिम्मा लिएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले असार २० गते भित्र काम सम्पन्न गर्नु पर्ने थियो यद्यपि निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न सकेन ।

निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि स्थानीयहरूले साउन १ गते अख्तियारमा मुद्दा दायर गरेका थिए । स्थानीय अख्तियार गएपछि निर्माण कम्पनी र सडक डिभिजन कार्यालय लहानको मिलेमतोमा साउन ४ गते हतारपतारमा कालोपत्रेको काम गरिएको थियो । हतारमा काम गर्दा गुणस्तरीय काम नभएको स्थानीय गणेश पुङमा राईले बताउनुभयो ।

राईका अनुसार उक्त बाटोमा १ सय २६ मिटर नालीको समेत काम गर्नुपर्ने थियो तर अहिले नालीकोसम्म काम भएको छैन । ४ सय ९० मिटर लम्बाई रहेको उक्त सडकमा १–१ मिटर सोल्जर र ५.५ मिटर ब्ल्याक टप हुनु पर्ने हो तर सो मापदण्ड समेत पुरा भएको छैन । स्थानीयका अनुसार निर्माण कम्पनी र सडक विभागको मिलेमतोमा निर्माण व्यवसायीलाई असार मसान्तमै काम नै सम्पन्न नगरी भुक्तानी गरिएको तर पछि अख्तियारको डरले हतारमा काम सम्पन्न गरिएको हो ।

यस विषयमा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सामाजिक सञ्जालमा चटपटे टोलमा गरिएको कालोपत्रेमा भएको समस्या देखेको र तत्काल उक्त समस्या समाधान गर्न सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णलाई समेत भनि सकेको बताउनुभयो । उहाँले राज्यले गरेको बिकास निर्माणको लगानीमा राज्यको मापदण्ड विपरीत काम गर्ने कसैलाई छुट नहुने भन्दै तत्काल उक्त समस्या समाधानका विकल्प खोजिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले उक्त सडक निर्माणको अनुगमन स्थानीय सरकारले पनि गर्नु पर्ने बताउनुभयो । उहाँका अनुसार जिम्मेवारीको हिसाबले नगरपालिकाको कुनै पनि जिम्मेवारी नभए पनि आफ्नो पालिकामा भएको निर्माणको कार्यमा पालिकाले उपस्थिति जनाएर गुणस्तर चेकजाँच गर्नु पालिकाको कर्तव्य भएको बताउनुभयो ।

सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले भने उक्त क्षेत्रको कालोपत्रेमा समस्या आएको आफूले पनि जानकारी पाएको बताउनुभयो । प्रमुख कर्णले समस्या आएको कुरा थाहा पाएपछि तत्काल आफूले दुई जना इन्जिनियरलाई त्यहाँको स्थलगत अवलोकन गरि प्रतिवेदन पेश गर्न भनेको बताउनुभयो । कर्णले निर्माण व्यवसायीलाई उक्त कामको बजेट भुक्तानी गरिएको भन्ने कुरा सत्य नभएको बताउनुभयो । उहाँले उक्त सडक असार मसान्त सम्ममा सम्पन्न गर्नु पर्ने बाध्यता भएको भएपनि निर्माण व्यवसायीले काम गर्दा गर्दै केही ढिला भएको स्विकार्दै आफूहरूले निर्माण व्यवसायीलाई बेस सम्मको मात्र भुक्तानी गरेको र बाकी काम सम्पन्न भएपछि मात्र गरिने दाबी गर्नुभयो ।

निर्माण व्यवसायी भन्छन् गलत प्रचार गरियो:

उता चटपटे टोल, बसाहा थान, बर्षेडांडा, गँगटे, माडिवास हुँदै बेल्टार जाने सडक खण्डको चटपटे टोल एरियामा झन्डै ४ सय ९०  मिटर कालो पत्रे सडक निर्माणको जिम्मा पाएको सिताराम कन्ट्रक्सन बेल्टारका सञ्चालक तेजनारायण शाहले आफूले गरेको काम सडक विभागले दिएको मापदण्ड अनुसारनै भएको दाबी गर्नु भएको छ । सञ्चालक शाहले आफूलाई बदनाम गर्ने उद्देश्य सहित कुप्रचार गरिएको हो, सामाजिक सञ्जालमा जस्तो कुरा आएको छ घटना स्थल त्यस्तो नभएको जिकिर गर्नुभयो ।

शाहले आफूलाई सडक विभागले दिएको समय भित्रै सडक निर्माणको अधिकांश काम सम्पन्न गरेको बताउँदै कालोपत्रे लगाउने काम मात्र ढिला भएको  बताउनुभयो । उहाँका अनुसार कालोपत्रे लगाउन साथ उक्त अलकत्रा सेट हुन नपाउँदै गाडी हिँडाई दिँदा सडकको एक छेउमा समस्या आएको र उक्त ठाउँ देखाउँदै आफूलाई गलत सावित गर्न खोजिएको दाबी गर्नुभयो । निर्माण व्यवसायीका अनुसार अहिले उक्त (समस्या आएको ठाउँ) खण्ड समेत मर्मतको कार्य सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button