तपाईँ सुन्दै हुनुहुन्छः

तराई–मधेसले गम्भीर जलसङ्कटको सामना गरिरहेका छ: मन्त्री यादव

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लाहरूले अहिले गम्भीर जलसङ्कटको सामना गरिरहेको बताउनुभएको छ। 

पर्साको ठोरी गाउँपालिका वडा नम्बर–४ निर्मल बस्तीमा करिब १ हजार घरधुरी लाभान्वित हुने गरी निर्माण सम्पन्न गरिएको निर्मल बस्ती खानेपानी आयोजनाको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुँदै मन्त्री यादवले यस्तो विकराल समयमा पनि सरकार नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिरहेको बताउनुभयो । 

उहाँले मधेस उत्पन्न जल सङ्कट तथा खानेपानी समस्या चाडै समाधान हुनेमा आम नागरिकमा विश्वस्त हुन आग्रह समेत गर्नुभयो ।

मन्त्री यादवले खानेपानी मन्त्रालयकै विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।

निर्मल बस्तीमा २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस,पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्माण सम्पन्न भए सँगै आज  निर्मल बस्ती खानेपानी आयोजनाको मन्त्री प्रदीप यादवले उद्घाटन गर्नुभएको हो ।

उक्त आयोजनाबाट वितरण सुरु गरिएको खानेपानी धाराको पानी आफैँ पिएर मन्त्री यादवले आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

खानेपानी आयोजना सञ्चालनमा आएपछि अब स्थानीयवासीले नियमित, सुरक्षित र भरपर्दो खानेपानीको सेवा पाउने अपेक्षा गरिएको छ ।

 विगत लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीय बासीका लागि यो आयोजना एक महत्त्वपूर्ण उपलब्धि बनेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

निर्मल बस्ती खानेपानी आयोजनाबाट १ हजार घरधुरीका २ हजार १६५ जना नागरिक लाभान्वित हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ,उपाध्यक्ष गोकुलीकुमारी रेग्मी,भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद,निर्मलवस्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button