८० अर्बको देवदह गुरुयोजना उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलद्वारा सार्वजनिक
रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना शुक्रबार सार्वजनिक भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यहाँस्थित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक गर्नुभएको हो ।

विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ बिगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको आठौँ सभा बैठकले स्वीकृत गरेको थियो ।
सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले शुक्रबार सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताउनुभयो । ‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ, उहाँले भन्नुभयो,–‘हामीहरू साथ र सहयोग गर्न सधैँ तत्पर छौँ ।’
०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको क्षण स्मरण गर्दै अहिले विश्वविद्यालयको स्वरूपमा पुगेको बताउनुभयो । ‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रुपमा स्थापित हुन सक्छ, उहाँले भन्नुभयो,–‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्याउनुपर्छ ।’

बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय अझै प्रभावकारी रुपमा अघि बढेको उहाँको भनाई थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रुपमा ब्राण्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन निर्देशन समेत दिनुभयो ।
८० अर्बको गुरुयोजनाका मूर्तरूप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने उहाँले बताउनुभयो । पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताउनुभयो । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताउनुभयो । उहाँले देवदह गुरुयोजनाको सपना छिट्टै साकार हुने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्याउनुभएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरू सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताउनुभयो ।

देवदहको जग्गा प्राप्तिमा भएको कठिनाइ स्मरण गर्दै उहाँले गुरुयोजना कार्यान्वयन हुँदा मुलुककै नमुना विश्वविद्यालयका रुपमा स्थापित हुने बताउनुभयो । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको बताउनुभयो ।
विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले सञ्चालन गरेको कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रुपमा रहेको बताउनुभयो । उहाँले लुम्बिनीको समग्र विकासमा संघीय सरकारको विशेष चासो आवश्यक रहेको बताउनुभयो ।
विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको हो । सो निर्माण बीस महिनाभित्र सकिने अपेक्षा रहेको छ । विश्वविद्यालयमा हाल करिब २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्