तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा दिइँदै 

चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बोनम्यारो प्रत्यारोपण सेवा प्रदान गर्ने प्रक्रिया कार्यान्वयनतर्फ अघि बढेको छ । चीन सरकारको सहयोगमा क्यान्सर अस्पताल भरतपुरमा बोनम्यारो प्रत्यारोपण सेवाको युनिट खडा गर्न लागिएको हो ।

नेपाल सरकारले बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर फर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार हालै बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले चीन सरकारबाट बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न विनिमयपत्रमा हस्ताक्षर गर्न स्वीकृतिसमेत प्रदान गरेको छ ।

‘एक वर्षदेखि क्यान्सर अस्पताल भरतपुरमा बोनम्यारो प्रत्यारोपण सेवा निर्माणको युनिट सञ्चालनका लागि तयारी गरिएको थियो, अब कार्यान्वयनतर्फ अघि बढेको छ’, कार्यकारी निर्देशक डा. पौडेलले भन्नुभयो ‘मन्त्रिपरिषद्को बैठकले हस्ताक्षर गर्न स्वीकृति दिएपछि अब कामको गतिले तीव्रता पाउनेछ ।’

उहाँका अनुसार यही अगस्त ११ गते (साउन २६) चिनियाँ टोली अध्ययन, अवलोकन र प्रक्रिया अघि बढाउन भरतपुर क्यान्सर अस्पतालमा आउने भएको छ । ‘चिनियाँ सरकारको टोली बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आउने भएका छन्, क्यान्सर अस्पताल भरतपुरले गर्नुपर्ने सबै काम गरिसकेको छ’, उहाँले भन्नुभयो,‘बोनम्यारो प्रत्यारोपण सेवा जतिसक्दो छिटो दिन हामी आतुर नै छौँ । जे होस्, अब प्रक्रिया अघि बढे छिटो पूर्णता पाउला ।’

क्यान्सर अस्पताल भरतपुरले यसअघि नै स्वास्थ्य मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) बुझाइसकेको छ । ‘३० वर्षअघिदेखिका क्यान्सर अस्पतालका भवनहरूको विवरण बुझाएका छौँ, वनको स्वीकृति आइसक्न बाँकी छ’, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले भन्नुभयो ।

बोनम्यारो प्रत्यारोपण सेवाका लागि थप भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्नेछ । एक वर्षअघि नै क्यान्सर अस्पताल भरतपुरले नेपाल सरकारसँग यससम्बन्धी सम्झौता गरिसकेको डा. पौडेल बताउनुहुन्छ ।

‘चिनियाँ टोली भरतपुर आएपछि उपकरण खरिद, जनशक्तिलाई तालिमलगायतको विषयमा छलफल हुनेछ’, उनले भने, ‘सबै काम चीन सरकारबाट भएको छ, त्यसकारण चीन सरकारले दिएको सुझावअनुसार नै अघि बढ्ने छौँ’, उहाँले भन्नुभयो ।

२०८१ वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी)का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो  ।

हस्ताक्षर भएको १५ महिनापछि नेपाल सरकारले हस्ताक्षरका लागि स्वीकृति प्रदान गरेको क्यान्सर अस्पताल भरतपुरले जनाएको छ ।

सम्झौतामा संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि सहायता उपलब्ध गराउने सहमति भएको डा. पौडेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button