राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमाथि समितिमा छलफल

काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि आज छलफल भएको छ ।
समितिको बैठकमा सुमित्रा बिसी, रेणु चन्द, मदनकुमारी शाह गरिमा, युवराज शर्मा, श्रीकृष्णप्रसाद अधिकारीलगायतका सांसदहरूले निकुञ्जहरू राष्ट्रिय विकासका बाधक भएको भन्दै त्यसलाई सहजीकरण गर्न नयाँ नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले निकुञ्ज क्षेत्रका वनबाट उत्पादित कार्बन व्यापार गर्न नमिल्ने र निकुञ्जभित्र प्राकृतिक प्रकोप भएमा त्यसको सहज व्यवस्थापन गर्न सकिने नीति लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

समितिको बैठकमा प्रतिवेदनमा उल्लेख निकुञ्जभित्र खनिज पदार्थको खानी फेला परेमा त्यसलाई राज्यले उद्योगका रूपमा विकास गर्न सक्ने भन्ने बुँदामा सांसदहरुबीच सहमति जुट्न नसक्दा बैठकले आज प्रतिवेदन पारित गर्न सकेन ।
समितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि मदनकुमारी शाह गरिमाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
समितिका सभापति मायाप्रसाद शर्माले पुन एक पटक विज्ञहरूसँग छलफल गरेर प्रतिवेदन समितिले पारित गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्