पूर्वीनाकाबाट १९अर्ब ९४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात
भद्रपुर ,झापा । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकडभिट्टाबाट रु १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात् चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात् रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु आठ अर्ब ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोमिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु सात अर्ब तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोमिटर डिजेल आयात भएको छ ।
यसैगरी उक्त अवधिमा रु दुई अर्ब ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपि ग्यास, रु ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोमिटर एटीएफ र रु २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोमिटर मट्टितेल आयात भएको छ ।
प्रतिक्रिया राख्नुहोस्