‘सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो ।

“पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुन्थ्यो ।’’, अध्यक्ष ओलीले भन्नुभयो, “जात र धर्मबाट उहाँ माथि हुनुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिस्टहरूको सङ्गठनलाई गतिशील रूपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।’’
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलो पटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्