‘पूर्व राष्ट्रपतिको राजनीतिक पुनरागमन संवैधानिक मर्म विपरीत छ’

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपतिको राजनीतिक क्रियाशीलता संविधानको मर्म अनुकूल नहुने निष्कर्षसहित पार्टी राजनीतिमा फर्कन नहुने निर्णय गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीको साउन ५ र ६ गते बसेको बैठकका निर्णयबारे जानकारी दिन आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपतिको राजनीतिक पूर्नरागमनले विश्वसनीयता र संविधानमाथि नै प्रश्न उठ्ने भन्दै यस्तो अभ्यास गर्न नहुने निर्णय भएको बताउनुभयो ।
प्रचार विभाग प्रमुख गौतमले राष्ट्रपतिको सर्वोच्च जिम्मेवारीमा सम्हालिसक्नुभएका व्यक्ति दलीय आबद्धताबाट पूर्ण रूपमा मुक्त भई निष्पक्ष भूमिकामा रहने व्यवस्था नेपालको संविधानले गरेकोले संवैधानिक मान्यताका विपरीत अभ्यास हुनै नसक्ने बताउनुभयो ।

प्रमुख गौतमले राष्ट्रकै उच्च पदीय जिम्मेवारीमा रहँदा गरेका निर्णय तथा भविष्यमा गरिने निर्णयहरूमा संवैधानिक विश्वसनीयतामाथि प्रश्न उठ्नुका साथै लोकतान्त्रिक मूल्यहरूलाई समेत कमजोर गर्ने भएकाले पार्टीले यस्तो निर्णय लिनुपरेको स्पष्ट पार्नुभयो ।
प्रमुख गौतमले राजनीतिक अभ्यास र अनुकरण गरिने शैली समग्र पद्धतिको रूपमा विकास हुँदै जाने भएकोले गणतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न सचेतता र संयमता अपनाउँदै अघि बढ्नुपर्ने पनि बताउनुभयो ।
यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताउनुभएको छ ।
महासचिव पोखरेलले सभामुख राजनीतिक जिम्मेवारी भएको जिकिर गर्दै पूर्व राष्ट्रपतिसँग जोडेर हेर्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्