तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने नीति लिएको जनाएको छ । 

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगतिबारे छलफल गर्न आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले अलपत्र अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएकै समयभित्र सक्ने गरी काम गरिरहेको बताउनुभयो । 

सरकारले खाल्टाखुल्टीरहित सडक अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै मन्त्री दाहालले सडक निर्माणकाक्रममा  गुणस्तर सम्झौता नगरिने पनि स्पष्ट पार्नुभयो । 

बैठकमा सडक विभागका महानिर्देश डा. विजय जैशीले पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माणको करिब ८२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । 

उत्तर दक्षिण कोशी, कालिगण्डकी र कर्णाली  करिडोर निर्माणमा पनि यथेष्ट भौतिक प्रगति भएको र केही क्षेत्रमा सडक निर्माणमा जटिल अवरोध आएको भन्दै महानिर्देश जैसीले निकुञ्ज र वन क्षेत्रको जग्गा प्राप्तिका लागि सरल र स्पष्ट नीति  त्याग गरिदिन संसदीय समितिलाई आग्रह गर्नुभयो । 

बैठकमा रेल विभागका महानिर्देशक रविन्द्रलाल दासले पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास स्टेशन क्षेत्रमा ६० प्रतिशत भौतिक प्रगति भए पनि स्थानीयको अवरोधका कारण हाललाई काम रोकिएको जानकारी दिनुभयो । 

बैठकमा सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाहरू निर्माणमा ढिलासुस्ती भएको भन्दै आयोजना सुरुपूर्व नै स्पष्ट रुपमा समस्या पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।  सांसदहरुले राष्ट्रिय गौरवका सडकहरू निर्माण गर्दा फास्ट्रयाकमा गरिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button