पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध
चौतारा ,सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो । उहाँले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएको बताउनुभयो ।
पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ ।
पटक पटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा, २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको शेर्पाले बताउनुभयो । हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उहाँले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्