भदौदेखि देवघाटमा विद्युतीय शव दाह सञ्चालनमा आउने

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शव दाह भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शव दाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।
विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शव दाह भवन पटक पटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शव दाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शव दाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।
भवनको निर्माण सम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शव दाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने उहाँको भनाइ छ । आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
भवनको काम हेर्दै आउनुभएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ । केही दिनमा मिटर जडान हुनेछ । यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ । भवनमा दुई वटा शव दाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउनेछन् । शव राख्नुपर्दा चार वटा शव राख्न मिल्ने गरी ‘फ्रिज’ जडान गरिएको छ ।
बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन । आवश्यकताअनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । उहाँका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शव दाह सञ्चालनसँगै दाउराको खपत घट्ने उहाँको भनाइ छ ।
बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शव दाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शव दाह गृह निर्माण गरेको हो । शव दाह भवन ६०० वर्ग मिटर क्षेत्रफलमा बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्