तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा आलु सुपरजोन कार्यक्रम प्रभावकारी

डडेल्धुरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यान्वयन भइरहेको आलु सुपरजोन कार्यक्रम डडेल्धुरामा प्रभावकारी बनेको छ । 

परियोजना कार्यान्वयन इकाई आलु सुपरजोन डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम सम्पन्न गरेर हाल २०८२÷८३ को कार्यक्रम सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले आलु सुपरजोन कार्यक्रम जिल्लाका सात वटै पालिकामा विस्तार गरिएको बताउनुभयो । 

आलु सुपरजोन अन्तर्गत आलुको उत्पादनदेखि भण्डारण तथा बजारीकरण सम्मका सबै पक्षलाई समेटी किसानहरूलाई उत्पादन प्रविधिसँग जोडिएको छ । डडेल्धुरा जिल्लामा रहेको उग्रतारा शीत भण्डारणमा हाल ७ सय मेट्रिक टन बर्खे र हिउँदे आलु भण्डारण गरिएको छ । परियोजनाले आलुको बीउ वितरणदेखि तालिम तथा सिँचाइका पूर्वाधारका लागि समेत काम गरेको छ ।

“यस परियोजनाले उत्पादन मात्र बढाएको छैन किसानको जीवनशैली र सोचाइमा पनि परिवर्तन ल्याएको छ । अहिले किसानहरू व्यावसायिक उत्पादनप्रति आकर्षित भएका छन् ।”, सुपरजोन कार्यक्रमका प्रमुख बस्नेतले भन्नुभयो ।

जिल्लामा दुई सिजनमा आलु उत्पादन हुन्छ, हिउँदे आलु सिजन र बर्खे आलु सिजन । परियोजना लागू हुनु अघि जिल्लामा जम्मा २ सय हेक्टर हाराहारीमा मात्र आलु खेती हुँदै आएकोमा अहिले डडेल्धुरामा दुई सिजनमा गरी १ हजार १ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ ।

जिल्लामा ६५ प्रतिशत हिउँदे आलु र ३५ प्रतिशत बर्खे आलु खेती हुने गरेको छ । हिउँदे आलुको प्रति हेक्टर उत्पादन औसतमा २२ मेट्रिक टन र बर्खे आलुको ३१ मेट्रिक टन रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा डडेल्धुरामा हिउँदे र बर्खे आलु गरी करिब ७१ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । आलु उत्पादनमा हरेक वर्ष वृद्धि हुँदै गएको छ ।

गत आर्थिक वर्षमा साढे ६ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्ष २०८२÷८३ मा सात करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । यो बजेटमार्फत उत्पादन लागत घटाउने, भण्डारण सुविधा थप विस्तार गर्ने, प्रविधिमा आधारित आलु उत्पादन र सिँचाइ पूर्वाधारमा सुधार गर्ने कार्य अगाडि बढाइने बताइएको छ । 

योजना लागू हुनुअघि डडेल्धुराका धेरै किसानले पारम्परिक विधिबाट सानो क्षेत्रफलमा मात्र आलु खेती गर्ने गरेका थिए । तर अहिले प्रविधिमा आधारित खेती गर्दै आएका छन् । सिँचाइ सुविधा, उन्नत बिउ, मल र समयमै आवश्यक तालिम पाएका कारण उत्पादनमा गुणात्मक सुधार आएको किसानहरूको अनुभव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button