तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्याउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित ‘प्रथम यः वा किसान मञ्च: युवा किसान व्याम्प तथा कृषि ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवाको आकर्षण बढाउन सरकारले विभिन्न प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर बन्न शिक्षित, प्रविधिमैत्री र सचेत युवाहरूको कृषि कर्ममा सक्रिय सहभागिता अहिलेको आवश्यकता अनिवार्य भइसकेको बताउनुभयो ।

“देशको समृद्धिको आधार कृषि हो भने किसान समृद्धिका आधारशिला हुन्”, अध्यक्ष दाहालले भन्नुभयो, “तर, आजसम्म पनि वास्तविक किसानहरूसँग जमिन नहुनु, सिँचाइ अभाव, मल, बीउ, बजारीकरण र न्यूनतम समर्थन मूल्यका चुनौती र समस्याहरू उस्तै छन् ।”

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको मार्ग निर्देश गरेको भए पनि त्यसको मूल आधारका रूपमा रहेका किसानको जीवनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको अध्यक्ष दाहालले टिप्पणी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा सामाजिक न्यायसहितको क्रान्तिको आवश्यकता औँल्याउँदै किसानलाई जमिनको स्वामित्व दिनुपर्ने, खाद्य सम्प्रभुता कायम गर्नुपर्ने र किसानका संवैधानिक हकहरू व्यवहारमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले विगतका जनआन्दोलन, किसान आन्दोलन, जातीय, लैङ्गिक र वर्गीय सङ्घर्षको फलस्वरूप प्राप्त संविधानमा उल्लेख गरिएका अधिकारहरूको व्यावहारिक कार्यान्वयन जरुरी भएको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन”, अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो, “युवाहरूको सक्रियता र नेतृत्व बिना कृषिको रूपान्तरण सम्भव छैन ।”

कृषि क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरू उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारले गर्नुपर्ने ठोस पहलका १३ वटा बुँदागत सुझाव प्रस्तुत गर्नुभयो । जसमा भूमि ऐनलगायत आवश्यक कानुन निर्माण, मल–बीउको सहज आपूर्ति, कृषकका उत्पादनको बजार ग्झारेन्ट्री, रैथाने बालीको प्रवर्द्धन, विषादी नियन्त्रण, किसानलाई सहुलियत ऋण तथा अनुदानमा पहुँच, जलवायु परिवर्तनको असर न्यूनीकरणलगायत विषय समावेश छन् ।

कार्यक्रममा अध्यक्ष दाहालले कृषिमा आधारित नवप्रवर्तन, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको उपयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउँदै कृषि क्षेत्रलाई रोजगार सिर्जनाको प्रमुख स्रोत बनाउने खालको योजना आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रमको आयोजना राष्ट्रिय किसान सञ्जाल नेपाल र राष्ट्रिय कार्यान्वयन समितिले गरेका थिए । कार्यक्रममा देशभरिका एक सय बढी युवा किसानहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक नहेन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button