एमाले केन्द्रीय कमिटीको बैठक सुरु
काठमाडमाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने एमालेले जनाएको छ ।
बैठकको सुरुवातमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सम्बन्धमा विचार राखिरहनुभएको छ ।

केन्द्रीय कमिटीको बैठकमा एमाले महासचिवले साङ्गठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक एवम् पार्टी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गरेपछि विधान मस्यौदाका सम्बन्धमा केन्द्रीय कमिटी सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्टाइएको छ ।

यस अघि एमाले सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले आफ्ना कमिटीका बैठकमा विधान मस्यौदामा धारणा राखिसकेका छन् ।
केन्द्रीय कमिटीको बैठक आज र भोलीसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।


प्रतिक्रिया राख्नुहोस्