तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण रानिसैन

'पर्यटकको रोजाइ बन्दै'

बाजुरा। बाजुराको हिमाली गाउँपालिका अन्तर्गत पर्ने ऐतिहासिक रानिसैन क्षेत्र पछिल्लो समय पर्यटकहरूको मुख्य गन्तव्य बन्न थालेको छ।

धार्मिक, जैविक र प्राकृतिक विविधताले अत्यन्तै सुन्दर र भरिपूर्ण भए पनि पूर्वाधारको अभाव र प्रचारप्रसारको कमीले बर्सौँ देखि ओझेलमा परेको रानिसैनमा केही समय देखि फेरि चर्चामा आए सँगै पर्यटकको चहलपहल ह्वात्तै बढेको हो।

हिउँले ढाकिएको हिमाल, स्वच्छ ताल, औषधीय जडीबुटी, चरन क्षेत्र र विभिन्न जातका फूलहरूले भरिएको यो क्षेत्र पर्यटकको आगमन बढेपछि निकै व्यापक प्रचार प्रसार हुँदै गएको बिच्छ्याका स्थानीय राज बहादुर थापाले बताउनुभयो । हाल महिनामा करिब एक दर्जन बढी आन्तरिक र बाह्य पर्यटकहरू रानिसैन घुमफिरमा आउने गरेको थापा बताउनुहुन्छ।स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबिच समन्वय गरी गुरुयोजना निर्माण, पूर्वाधार विकास, संरक्षण क्षेत्रको घोषणा र प्रचारप्रसारमा ध्यान दिन सके रानिसैन क्षेत्र सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ।

रानिसैनको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आर्थिक जीवनस्तरमा समेत सुधार आउने सरोकारवालाको भनाइ छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यो क्षेत्रको पर्यटन विकासका लागि योजना निर्माण र सर्वपक्षीय छलफल जारी रहेको हिमाली गाउँपालिकाले जनाएको छ। रानिसैन क्षेत्र अपि साइपाल हिमालको बेसक्याम्पका रूपमा समेत चिनिन्छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button