पाल्पा जिल्ला अदालतको मुद्दा फछ्र्यौट दर बढ्दो

पाल्पा । पाल्पा जिल्ला अदालतले पछिल्लो पाँच वर्षको अवधिमा मुद्दा फछ्र्यौट दर बढाएको छ । पछिल्लो पाँच वर्षको अवधिमा भएका मुद्दा फछ्र्यौट दर हेर्दा क्रमशः फछ्र्यौट दर बढेको पाइएको हो ।
अदालतले आर्थिक बर्ष २०८०/८१ मा ७३ दशमलव ८३ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोमा आर्थिक बर्ष २०८१/८२ मा ७५ दशमलव १८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । आर्थिक २०८०/८१ वर्षमा १ हजार ३२ मुद्दा मध्ये ७६२ वटा मुद्दा फैसला हुँदा आर्थिक बर्ष २०८१/८२ मा १ हजार ८४ मुद्दा मध्ये ८१५ मुद्दा फछ्र्यौट भएको छ ।
आर्थिक बर्ष २०७७/७८ मा ६३६ मुद्दा मध्ये ३७७ मुद्दा फैसला भई किनारा लागेका छन् । यो कुल मुद्दा सङ्ख्याको ५९ दशमलव २७ प्रतिशत हो । आर्थिक बर्ष २०७८/७९ मा ८८५ मुद्दा रहेकोमा ६२० मुद्दा फैसला भएका छन् यो कुल मुद्दा सङ्ख्याको ७१ दशमलव ६७ प्रतिशत हो । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा १ हजार १७ मुद्दा रहेकोमा ७२९ वटा मुद्दा फैसला भई किनारा लागेका छन् । यो कुल मुद्दा सङ्ख्याको ७१ दशमलव ६८ प्रतिशत रहेको जिल्ला अदालत पाल्पाका सूचना अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला अदालतले आर्थिक बर्ष २०८१/८२ मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आर्थिक वर्षमा ७०६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकोमा ८१५ वटा मुद्दा फछ्र्यौट गरि लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेका हो ।
अदालतले आर्थिक बर्ष २०८०/८१ बाट जिम्मेवारी सरेर आएका २७० मुद्दा र नयाँ दर्ता भएका ८१४ मुद्दा गरि जम्मा १ हजार ८४ मुद्दा मध्ये ८१५ वटा मुद्दा फैसला गरि किनारा लागेको जनाएको छ । कुल मुद्दा सङ्ख्याको ७५ दशमलव १८ प्रतिशत मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत तानसेनका श्रेस्तेदार केशब पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिवादी सङ्ख्या ३ भन्दा तल भएका सरलमार्गका ८४१ मुद्दा मध्ये ६४२ मुद्दा फैसला हुँदा १९९ मुद्दा बाँकी रहेका छन् । त्यस्तै प्रतिवादी सङ्ख्या ३ देखी १० जना सम्म रहेका २२२ सामान्य मुद्दा मध्ये १५४ फैसला हुँदा ६८ मुद्दा बाँकी रहेका छन् । विशेष मार्गका २१ मुद्दा रहेकोमा १९ वटा मुद्दा फैसला भएर किनारा लागि सकेका छन् । विशेष मुद्दा मध्ये बाँकी रहेका दुई मुद्दा पनि डिएनए रिपोर्ट र प्रतिवेदन आउन बाँकी रहेकाले अड्किएको श्रेस्तेदार पराजुलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्