तपाईँ सुन्दै हुनुहुन्छः

चिया बगानहरूमा ‘लुपर’ नामक कीराको प्रकोप 

झापा । झापाको हल्दिबारी गाउँपालिकाको चिया बगानहरूमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । 

हरियो पत्ति उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ ।

झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिगाह क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताउनुभयो । “किसानहरुले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन गरेका छौँ”, उहाँले भन्नुभयो, “बगानमा क्षति पुगेको पाइएको छ ।”

उहाँले चिया किसान गोपाल गिरीले चियाको हरियो पत्ति टिप्ने मुख्य समयमा हल्दिबारीका ठूला र साना सबै चिया बगानमा ‘लुपर’ कीराले महामारीको रूप लिएको बताउनुभयो । उहाँले झापाको हल्दिबारीमा मात्र यो रोगको प्रकोप देखापरेको बताउनुभयो । यसअघि चियाको बोटमा ‘रेड स्पाइडर’ नामक कीराको प्रकोप देखापर्ने गरेको थियो । ‘लुपर’ का कारण हल्दिबारीका चिया बगान पहेलिएर सुक्न थालेको उहाँको भनाइ छ ।

‘लुपर’ एक प्रकारको झुसिल कीरा वा फौजी कीरा जस्तै पात र मुना खाने कीरा हो । यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टि लुपर’ भनेर चिनिन्छ । यसको माउ पुतली हुन्छ । पातमा पारेका असङ्ख्य अण्डाबाट लार्भा निस्किएर चियाको पात खाने गर्दछ ।

किसान नवीन मैनालीले वैशाखदेखि सुरु भएको ‘लुपर’ को प्रकोप साउन लागि सक्दा नियन्त्रण नभएको बताउनुभयो । कीराले पात खाएर चियाको बोटलाई झिक्रामा परिणत गरिदिएको उहाँले बताउनुभयो । 

किसानहरुले पालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा परामर्श नगरी किरा नियन्त्रणका लागि जथाभाबी विषादी प्रयोग गरिरहेको कृषि शाखाका प्रमुख गुरुङ बताउनुहुन्छ । जथाभाबी विषादी प्रयोग गरिएकाले किरामा पचाउन सक्ने शक्ति बढेको हुनसक्ने उहाँले आशङ्का गर्नुभयो । पालिकाभरिका चिया किसान, सहकारी संस्था र उद्योगीहरूलाई पालिकामा बोलाएर प्रकोप नियन्त्रणका लागि अन्तरक्रिया गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

अनुगमनमा जानुभएका पालिका अध्यक्ष रवीन्द्र लिङ्देनले रोग नियन्त्रणका लागि पालिकाले सबै किसिमको सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले किसानहरूलाई स्प्रे ट्याङ्की दिने घोषणा गर्नुभएको छ ।

चियाको बोटमा वैशाखदेखि नयाँ पात पलाउने भएकाले वैशाखदेखि साउनको समयलाई हरियो पत्ति उत्पादनको सबैभन्दा मुख्य समय मानिन्छ । किसानहरुले यसपालिको यो समयमा चिया पत्ती टिप्न नपाएको कारण करोडौँको नोक्सानी भएको बताएका छन् ।

हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगानलगायत सात वटा ठूला चिया बगान छन् भने पाँच सयभन्दा बढी परिवारको निजी बगान छ । किसानहरुले सहकारीमार्फत दुई वटा प्रशोधन कारखाना आफैँ चलाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button