जनप्रतिनिधिको सेवा सुविधाबाट विपन्न परिवारका सदस्यको स्वास्थ्य बीमा

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ ले आफ्नो वडा भित्रका विपन्न परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठलगायत वडा सदस्यहरुले प्राप्त गर्ने सेवा–सुविधाबाट ४० परिवारका एक सय ९० जनाको स्वास्थ्य बीमा गरिएको वडा नम्बर– ५ वडा कार्यालयले जनाएको छ ।
विपन्न परिवारका धेरै मानिसहरूले आर्थिक अभावकै कारण सामान्य रोगको उपचार समेत गर्न नसक्ने अवस्था रहेकोले वडा नम्बर– ५ भित्रका विपन्न परिवार पहिचान गरी जनप्रतिनिधिले प्राप्त गर्ने सेवा–सुविधाबाट उनीहरूको स्वास्थ्य बीमा गरिएको वडा अध्यक्ष बासु श्रेष्ठले बताउनुभयो ।
आर्थिक बर्ष २०८२÷०८३ को लागि भने वडाको बजेटमै विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रम समावेश गरिएकोले यो क्रम अब हरेक बर्ष निरन्तर चल्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य बीमा गरिएका ४० परिवारको एक सय ९० जना विपन्न नागरिकलाई बागमती प्रदेश सांसद भरतबहादुर केसी, दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सांसद केसीले भीमेश्वर नगरपालिका वडा नम्बर– ५ ले विगत देखिनै आफ्ना नागरिकको सामाजिक सुरक्षा र भौतिक विकासमा महत्वपूर्ण काम गर्दै आएको स्मरण गर्नुहुँदै स्वास्थ्य बीमा जस्तो महत्वपूर्ण काममा आफ्नो सेवा सुविधा लगानी गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्