नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गर्नुभयो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरू भएको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताउनुभयो । “यसले पुस्ता पुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरू लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू हुन्छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्