कर्णाली प्रदेशमा औद्योगिक कर्जा झण्डै १५ प्रतिशतले वृद्धि
सुर्खेत । कर्णाली प्रदेशमा औद्योगिक कर्जा झण्डै १५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अध्ययन प्रतिवेदन अनुसार गत अवधिको तुलनामा १४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो ।
प्रदेशभर प्रवाह भएको समग्र कर्जाको ६ दशमलव ४१ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको राष्ट्र बैङ्क कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिवेदन अनुसार यस अवधिमा नमुना छनौटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३७ दशमलव ९३ प्रतिशत छ । जसमा कागज तथा कागजका उत्पादन सम्बन्धि उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७ प्रतिशत छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २६ प्रतिशत रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा यस प्रदेशमा भित्रिने पर्यटकको सङ्ख्यामा ११ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । जसमा भारतबाट १२ दशमलव ८२, चीनबाट तीन दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या १३ दशमलव ३४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्क उल्लेख छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशमा विद्युत् प्रसारण लाइन २ हजार ४ सय १६ दशमलव ४७ किलोमिटर पुग्दा १७ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन भएको छ ।
त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव ६ प्रतिशत, १२ दशमलव ४ प्रतिशत र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैङ्क गरेको छ ।
यस अवधिमा कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१ दशमलव ५, नौ दशमलव ६ र ५८ दशमलव ९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया राख्नुहोस्