सिसेक्पा तङ्नाम पर्व मनाउँदै लिम्बु समुदाय
ताप्लेजुङ । ताप्लेजुङ सहित पूर्वी नेपालको विभिन्न क्षेत्रमा आज लिम्बु समुदायले सिसेक्पा तङ्नाम (साउने सक्रान्ति) पर्व मनाउँदै छ ।
नयाँ पाकेको अन्नबाली इष्ट देउता (मेन्निमाङ मेन्धामाङ निस्से सेखामाङ) लाई बुझाएर पर्व मनाउने चलन छ । सिसेक्पा तङ्नामको अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
तङ्नामको अवसरमा आज लिम्बु समुदायको घरको मूलढोकामा बाबियोको डोरीमा नयाँ अन्नबाली मकै,तुलफूल,कुरिलो जस्ता बनस्पिती झुन्ड्याएर सहकाललाई स्वागत गरिने गरेको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङलिबा बताउनहुन्छ । यसले शुभ हुने,आपत् विपतबाट बचाउने विश्वास गरिन्छ ।
किराँत धर्मका जानकारहरूका अनुसार सिसेक्पा तङ्नामले मानव सभ्यता प्रारम्भ भए देखिनै गहिरो सम्बन्ध रहेका देखिन्छ । नयाँ पाकेको अन्न चढाएर खायो भने ईश्वरबाट वरदान सुख शान्ति पाइन्छ भन्ने जनविश्वास रहेको समेत जानकारहरूले बताउने गरेका छन् ।
लिम्बु समुदायमा आज बिहान देखि परिवार तथा आफन्त भेला भई मिठो मसिनो बनाए रमाइलो गर्छन् । साँझपख खानापछि घर-घरमा नाङ्लो,थाल,झ्याम्टा,ढोल बजाएर बालबालिका देखि बृद्धबृद्धा समेत घरको वरिपरि घुमेर नकारात्मक शक्तिहरू हटाउने चलन रहेको छ । सो क्रममा “सक्रान्ति आऊ,अनिकाल जाऊ,सहकाल आऊ” भन्दै अगुल्टो राँको सहित खेदै परसम्म पुर्याइन्छ र अगुल्टो राँको थुपारेर बाटो छेकिन्छ, यसलाई साक्लाम्धेक भनिन्छ । यसको अर्थ अनिकाल फेरि नआओस् भन्ने मान्यता पाइन्छ ।
तर पछिल्लो समय सहरी क्षेत्रमा यस्ता परम्परा लोप हुन थाले पनि ग्रामीण भेगमा यथावत् रहेको सचिव कङलिबा बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्