प्रतिष्ठानलाई विश्वासिलो बनाउने गरी अगाडि बढाउन मुख्यमन्त्रीको निर्देशन
विराटनगर । कोशी प्रदेश अन्तर्गत झापाको कलवलगुरीमा अवस्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ ।
त्यस्तै प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार यो बजेट सरकारको प्रदेश सभाबाट पारित पनि भइसकेको छ ।
बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रतिष्ठानले कर्मचारीहरूलाई स्मार्टनेस बनाउने गरी तालिम गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो बनाउने गरी अगाडि बढाउन निर्देशन दिनुभयो । आम मानिसले चिन्ने र बदलिँदो प्रविधि अनुसार अपडेट गरेर प्रतिष्ठानलाई अगाडि बढाउन उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्