तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा नागरिकता प्रतिलिपि लिनेको सङ्ख्या बढ्दो 

सल्यान । सल्यानमा नयाँ नागरिकता लिने सरह नै प्रतिलिपि लिनेहरूको सङ्ख्या बढेको पाइएको छ ।

विगतमा नागरिकताको प्रतिलिपि भन्दा नयाँ नागरिकता लिनेको सङ्ख्या बढी भएको ता पनि यस चालु आ.व.मा नयाँ नागरिकता र प्रतिलिपि लिनेको सङ्ख्या  बराबर जस्तै रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

चालु आर्थिक वर्षमा ७ हजार ८ सय ८ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने ६ हजार ८ सय ५४ जनाले प्रतिलिपि लिएका छन् । विगतमा नागरिकता च्यातिएमा वा हराएमा मात्र प्रतिलिपि लिने गरेको भएता पनि यस वर्ष भने राष्ट्रिय परिचय पत्र बनाउन नागरिकता अनिवार्य चाहिने र नागरिकता धुलिएको वा पुरानो भएको नागरिकताले काम नगर्ने भएपनि प्रतिलिपि लिनेको सङ्ख्यामा वृद्धि आएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताउनु भयो । उहाँले भन्नु भयो ‘अहिले नेपाल सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन तथा बैङ्कहरूले समेत राष्ट्रिय परिचय पत्र माग्न थालेपछि प्रतिलिपि लिनेको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ ।’

 एक व्यक्तिले जीवनमा एक पटक प्राप्त गर्ने नागरिकता जस्तो कुरा हिफाजत गरेर राख्नु पर्ने उहाँको भनाई छ । प्रतिलिपि लिँदा कुनै कानुनी झन्झट व्यहोर्नु नपर्ने, जरिवाना तिर्नुपर्ने सजिलै पाइने भएता पनि त्यसको सुरक्षामा नागरिक आफै सचेत बन्नु पर्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘नेपाली नागरिक हो भनी राज्यले दिएको प्रमाण पत्र नै नागरिकता हो । राज्यले आफ्ना नागरिक भएको पहिचान गर्ने र हरेक क्षेत्रमा अनिवार्य प्रयोग हुने नागरिकता प्राप्त गर्न र पुनः प्रतिलिपि लिन समेत समस्या छैन ।’ 

यस्तै चालु आ.व.मा ५ हजार ८३ को राहदानी सिफारिस गर्दा ४ हजार ३ सय ६९ जनालाई वितरण गरिएको छ भने १४ हजार ४ सय ६७ जनाको राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्दा ३ हजार २१ जनालाई मात्र परिचय पत्र वितरण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button