बाजुरा जिल्ला अदालतमा मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि
बाजुरा । बाजुरा जिल्ला अदालतमा मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा मुद्दा दर्ताको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला न्यायाधीश सञ्जीव पोखरले बताउनुभयो । यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
गएको वर्षको तुलनामा दर्जन बढी मुद्दा थपिएका छन् । अदालतले यो आर्थिक वर्षमा १ सय ३३ वटा मुद्दा फैसला गरेको छ । यो पनि गएको आर्थिक वर्षको तुलनामा उल्लेख्य प्रगति भएको अदालतले जनाएको छ । गएको वर्षका थपी आएका फर्छ्यौट हुन बाँकी ७९ वटा र यो वर्षका १ सय ११ गरी १ सय ८० मुद्दा फैसलाको भार अदालतलाई रहेको थियो ।

ती मध्ये १ सय ३३ वर्ष फैसला भइसकेका छन् । भने ४७ वटा फर्छ्यौट हुन बाँकी रहेका छन् । पहाडी जिल्लाको तुलनामा यो मुद्दाको सङ्ख्या धेरै रहेको न्यायाधीश पोखरेलको भनाइ छ । उजुरी आएका मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् । भने दोस्रोमा वैवाहिक बलात्कार सहित जबरजस्ती करणीका छन् ।
यो वर्ष दर्ता भएका १ सय ११ मध्ये २५ वटा सम्बन्ध विच्छेद मुद्दा मात्रै छन् । सम्बन्ध विच्छेदमा पनि वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमतीहरूले बढी हालेको देखिन्छ । श्रीमान् विदेशमा बसेको र सहयोग नभएको जस्ता समस्या देखाएर एकपक्षीय महिलाकै तर्फबाट सम्बन्ध विच्छेदका लागि बढी उजुरी आएको जिल्ला न्यायाधीश पोखरेलले बताउनुभयो ।
सम्बन्ध विच्छेद समाजको समस्याकै रूपमा देखिने गरी मुद्दा आउने देखियो, पहाडी जिल्लामै वर्षका २५ जनाले उजुरी दिने कुरा सामान्य होइन, यसले परिवारबिचको द्वन्द्वका नाममा सामान्य बेमेलमा पनि घरपरिवार उजाड हुने, सन्तानले दुख पाउने अवस्था देखिएको न्यायाधीश पोखरेलले थप्नुभयो।
जबरजस्ती करणीका मुद्दा यो वर्ष मात्रै १२ वटा दर्ता भएका छन् भने चोरी/हिंसाका ६ वटा, लेनदेन ९ वटा, बहुविवाह र बालविवाहका १२ वटा, अङ्गभङ्ग ४ वटा, बैङ्क कसुर २ वटा, आपराधिक उपद्रव ४ वटा, अप्राकृतिक यौन व्यवहार १ वटा, डाँका चोरी ३ वटा, ज्यान मार्ने उद्योग २ वटा, नाता कायम १ वटा, हातहतियार तथा खरखजना २ वटा, कुटपिट २ वटा मुद्दा अदालत बाजुरामा दर्ता भएका छन् ।
यस्तै आत्महत्या दुरुत्साहन २ वटा, कर्तव्य ज्यान २ वटा, चेक अनादर २ वटा, मानव बेचबिखन २ वटा, सवारी ज्यान २ वटा, गर्भपतन १ वटा, जाली प्रमाण र छाप १ वटा र राष्ट्रिय परिचय पत्र दुरुपयोग १ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये ७० प्रतिशत बढी यो वर्ष दर्ता भएकै मुद्दा फैसला भइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्