‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टीको सङ्गठन विभागको बैठकमा सो अभियानले आम कार्यकर्ता चलायमान भएको निष्कर्ष निकालेको हो ।
सङ्गठन विभागका सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा गत वर्षको माघदेखि चैतसम्म सञ्चालन गरिएको वडा केन्द्रित ग्रास रुट अभियानका कारण पार्टी गतिविधि बढेको, मातहतका अधिकांश पार्टी कमिटीको अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार सो अवधिदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएको, ८५ प्रतिशत वडाका अधिवेशन भएको र करिब १७ हजारमध्ये १० हजारभन्दा बढी टोल कमिटीहरू गठन गरिएको छ ।
विभागले महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहरूलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय गरेको छ । एमालेका २३ वटा जनसङ्गठनका महाधिवेशन सम्पन्न भएका छन् । पार्टीका ७७ जिल्लामध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्