सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस
काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२ पेस भएको छ ।
सभामा समितिको वार्षिक प्रतिवेदन पेश गर्दै सभापति ऋषिकेश पोखरेलले समितिले महालेखा परीक्षकको प्रतिवेदनलाई उच्च प्राथमिकता दिई छलफल गरी आवश्यक कारबाही तथा निर्देशनका लागि सरकारका निकायहरूमा लेखि पठाएको बताउनुभयो।
उहाँले राज्यको आर्थिक, सामाजिक र भौतिक क्रियाकलापहरूमा सुशासन कायम गर्न नेपाल सरकार र निकायहरूलाई निर्देशन दिएको र त्यसको कार्यान्वयन भएको नभएको समेत समीक्षा समेत गरिएको बताउनुभयो ।
सभापति पोखरेलले आर्थिक अनियमितता, भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग, निर्माण सामग्रीमा भएको उच्च मूल्यवृद्धि लगायतका विषयमा छलफल गरी निर्देशन दिँदै समग्र आर्थिक तथा वित्तीय जबाफदेहिता कायम गर्नेगरी समितिले काम गरेको पनि बताउनुभयो ।
सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकवर्ष २०८२/०८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्ताव प्रस्तुत गर्नुभएको ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफल जारी रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्