राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रियसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेशमा पानी नपरेका कारण किसानहरुले अझै रोपाइ गर्न नपाएकाले अन्नको भण्डार भनेर चिनिने तराइका फाँटहरूमा सिँचाइका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले कृषिलाई व्यवसायीकरण गर्न सक्यो भने गरिबी हटाउन सकिने हुँदा कृषिमा युवाहरूलाई आकर्षक रोजगारीको अवसर प्रदान गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले राज्यको पुनः संरचनासँगै मुलुकको अर्थतन्त्रको पनि पुनर्संरचना हुनुपर्नेमा जोड दिनुभयो ।
देशको निजी क्षेत्र मात्रै विकसित हुँदा गरिबीको अन्त्य नहुने भन्दै सांसद शर्माले सामाजिक न्याय, पर्यावरणीय स्थायित्व र सुशासन कायम गर्न सामुदायिक अर्थतन्त्र आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।
बैठकमा एकीकृत समाजवादी पार्टीकी सांसद जयन्तीदेवी राईले एक्काइसौँ शताब्दीको युगमा पनि महिलाहरू अन्धविश्वास र परम्पराको शिकार हुन परेको भन्दै महिलामाथि हिंसा र विभेद रहेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो ।
त्यस्तै गरी जनता समाजवादी पार्टीका सांसद मोहम्द खालिदले मक्कामदिनामा सवारी भाडा मुस्लिमहरूको आस्था विपरीत भएको भन्दै हाजीहरुमाथि व्याजको रकम खर्च गर्ने कुरा आपत्तिजनक भएको बताउनुभयो ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले कतै अतिवृष्टि, कतै अल्प वृष्टि र खडेरी परेको भन्दै तराई मा निःशुल्क सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
यस अघि बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले छाउपडी प्रथालाई कसुरजन्य अपराधका रुपमा स्वीकार गरिँदा पनि अझै महिलाहरूले छाउगोठमै मर्नुपर्ने अवस्था रहेको भन्दै छाउपडी विभेद गर्नेहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
सांसद चन्दले कञ्चनपुरमा छाउगोठमा बसेकी कमला दमाइको सर्पले टोकेर मृत्यु भएको घटना कु परम्पराको उपज भएको भन्दै छाउपडी प्रथा हटाउन विद्यालयदेखि नै सचेतना फैलाउनुपर्ने, स्थानीय तहहरुले अनुगमन गरी छाउपडी राख्ने परिवारका सदस्यलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकको विशेष समयमा सांदहरुले बोल्ने क्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्