तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको स्पेन सम्मेलनमा भाग लिन गएका केही नेपाली नफर्किएकोबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो । 

यस्तै सांसदहरूले मन्त्रीहरूले घुसको डिल गरेको भनिएको अडियोको सत्यतथ्यबारे सदनलाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै बैठकमा सांसदहरूले सिँचाई सुविधा नपुगेको र पर्याप्त वर्षा नहुँदा रोपाई हुन नसकेका तराई मधेसको क्षेत्रहरूलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी किसानलाई उचित राहतका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो ।

बैठकमा सांसदहरूले स्वास्थ्य बीमा सेवालाई सहज र सबैको पहुँचमा पु¥याउन, जुम्लाको खानेपानी कार्यालय खारेज नगर्न, कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले बैठकमा रसुवा जिल्लामा हालै आएको बाढीमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी एवं राहत तथा पुनस्थापनाको कामलाई प्राथमिकता तथा कञ्चनपुरको कृष्णपुरमा छाउ गोठमा सुतेकी २८ वर्षीय कमला अजिको सर्पले टोकाईबाट मृत्यु भएको घटनाप्रति गम्भीर बन्न र छाउपडी प्रथाको अन्त्यका लागि कठोर कदम चाल्न माग गर्नुभयो ।

यस्तै भिजिट भिसा प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज पनि सदन बहिस्कार गर्नुभएको छ । 

आजको बैठक सुरु भएलगत्तै सांसदहरूले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न समय दिनुभयो । 

त्यसपछि रास्वपा सांसद श्रेष्ठले स्पेन काण्डले आफूहरूले उठाउँदै आएको भिजिट भिसा प्रकरणको मागको सान्दर्भिकता अझै बढाएकोले यसमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो । 

बैठकमा सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाका सांसदहरू पछि अन्य दलका सांसदहरूलाई बोल्न समय दिनुभएपछि रास्वपा र राप्रपाका सांसदहरू बैठकबाट बाहिरिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button