वीरगन्जमा खानेपानीको चरम संकट
अराजक व्यक्तिद्वारा पानीको पाइप फुटाइ दिने, भल्ब बन्द गरिदिने जस्ता उच्छृङ्खल गतिविधि
वीरगञ्ज । वीरगन्जमा चापाकल सुकेर खानेपानीको चरम संकट बढ्दै गएका बेला केही अराजक व्यक्तिहरूले खानेपानी संस्थानको पाइप फुटाइ दिने, भल्ब बन्द गरिदिने र पाइपमा सिधै मोटर जोड्ने जस्ता उच्छृङ्खल गतिविधि गरिरहेको पाइएको छ ।
अहिले वीरगन्जसहित पर्साका विभिन्न पालिकामा चापाकलहरु सुकेर पानीको चरम सङ्कटले जनजीवन नै अस्तव्यस्त बनेको छ । यस विपद्को घडीमा वीरगन्जस्थित खानेपानी संस्थानले आफ्नो पाइपलाइनमार्फत दैनिक ८० लाख लिटर पानी वितरण गर्दै आइरहेको छ । यस्तै संघीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहको अग्रसरमा २ सय भन्दा बढी डीप बोरिङ जडान गरेर टोल टोलमा पानीको आपूर्ति सहज बनाउने प्रयास भइरहेको छ ।
तर त्यसले पनि पानीको समस्या पूर्ण रुपमा समाधान नहुँदा महानगरपालिकाले आफ्नो वारुण यन्त्र र पानीट्याङ्कीमा पानी ओसारेर टोलटोलमा पानी वितरण गरिरहेको छ ।
यस्तो विपद्का बेला पनि वीरगन्जमा केही अराजक व्यक्तिहरूले खानेपानीको पाइपलाइन विस्तार गरिएका स्थानमा रातिको समयमा भल्ब नै बन्द गरि दिने, पाइप फुटाइ दिने र पाइपमा सिधै मोटर जोडेर घरमा पानी लग्ने कार्य गरेका कारण त्यसले जनतालाई थप मर्का परेको छ ।
यसबारे गुनासो पुगेपछि खानेपानी मन्त्री प्रदीप यादवले त्यस्ता अराजक र उच्छृङ्खल प्रवृत्तिका मान्छे बारे खानेपानी संस्थानमा खबर गरेर सहयोग गरिदिन आग्रह गर्नुभएको छ । रेडियो नेपालसँग आज कुरागर्दै मन्त्री यादवले खानेपानी संस्थानलाई बदनाम गराउने र जनतालाई थप पीडा दिने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिनुभएको छ ।
घरघरमा सहज तरिकाले पानी पु–याउने क्रममा हाल कैयौँ ठाउँमा जडित भल्वहरु पुरै खोलिएकोमा खानेपानी संस्थानबाट अनुगमन गर्दा स्पर्श हस्पिटल र शुभलाभ पेट्रोल पम्पको पछाडिको गल्लीमा खानेपानी संस्थानको पाइपको भल्ब बन्द गरिदिएको ,खानेपानी संस्थानको पाइपमा अनधिकृत रुपमा मोटर जडान गरिएको तथा ठाउँ ठाउँमा पाइपहरू फुटाइएको पाइएको मन्त्री यादवले बताउनुभयो । यस्ता उच्छृङ्खल कार्यले खानेपानीको कृत्रिम अभाव सृजना गर्ने कु-नियत प्रष्ट रहेको भन्दै उहाँले अहोरात्र नगरवासीको सेवामा समर्पित नेपाल खानेपानी संस्थानलाई बदनाम गराउने प्रपञ्च रचिएको बताउनुभयो ।
मन्त्री यादवले खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकालाई बदनाम गराउन निरन्तर सामाजिक सञ्जालहरूमा भ्रामक पोस्टहरू राख्दै आएका केही अमुक दलका नेता कार्यकर्ताले नै खानेपानी संस्थानलाई बदनाम गराउन लागि परेको टिप्पणी गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्