तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग समितिको बैठकमा त्रिवि छात्रावास र औषधि आपूर्तिका विषयमा छलफल

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयको छात्राबासको खानेपानी र सरसफाइका सम्बन्धमा छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा त्रिवि छात्रावासका छात्राहरूले शुद्ध पिउने पानी नपाएका सम्बन्धमा  अनुगमन गरी आज समितिले छलफल गरेको हो ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक डाक्टर अकलदेव मिश्रले त्रिवि छात्राबासमा सरसफाई र शुद्ध खानेपानी अभाव भएको समाचार बाहिरिएपछि सुधार गरेको जानकारी दिनुभयो । 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. कृष्णप्रसाद पौडेलले सरकारले औषधि लिमिटेडले उत्पादन गरेको सिटामोल, जीवनजललगायतका औषधी जिटुजी मार्फत् खरिद गर्न लागेको बताउनुभयो । 

बैठकमा सांसदहरु  रेखा यादव, सूर्यमान दाङ, हेमराज राई, कान्तिका सेजुवाल, पूजा मिजारलगायतले त्रिभुवन विश्वविद्यालयको छात्रावासको दयनीय अवस्था रहेको भन्दै त्यसलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले विकटका जिल्लाहरूमा अझै सर्वसाधारण नागरिकले जीवनजल र सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सरकारले स्वास्थ्य सेवालाई सबैतिर प्रभावकारी रूपले पुर्‍याउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button