तपाईँ सुन्दै हुनुहुन्छः

चुरेको विनाशले प्राकृतिक विपत्ति बढेको छः मुख्यमन्त्री सिंह 

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले  वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताउनु भएको छ ।  

मुख्यमन्त्री सिंहले राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको आज  धनुषाको लालगढ़मा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताउनु भयो । 

मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताउँदै चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरूको सुरक्षाका लागि नदीजन्य पदार्थको वातावरण मैत्री उत्खनन गर्नुपर्नेमा जोड दिनु भयो । 

उहाँले वातावरणमैत्री उत्खनन वाट प्राप्त नदीजन्य पदार्थको निर्यात मार्फत आम्दानी समेत वृद्धि गर्ने तर्फ अग्रसर हुनुपर्नेमा सुझाव पनि दिनु भयो । 

प्रदेश सरकार संरचनामा आएपछि आर्थिक वर्ष २०८१।८२ मा सबैभन्दा बढी ७१ दशमलव ४८ प्रतिशत बजेट खर्च भएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री सिंहले यो उपलब्धीका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिनु भयो ।

राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति अध्यक्ष डा. किरण पौडेलले चुरेको अत्यधिक विनाशको असरबाट तराई मधेशका जिल्लाहरू बढी मात्रामा प्रभावित हुन थालेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर कमगर्न वन, चुरे तथा वातावरणको संरक्षण आवश्यक भएको बताउनु भयो । 

सभापतिको आसनबाट मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजय कुमार यादवले चुरेको दोहनका कारणले तराई मधेशका जिल्लाहरूमा अहिले खानेपानीको चरम अभाव हुन थालेको बताउनु भयो । कार्यक्रममा मधेश प्रदेश सभामा रहेको प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति शारदा पहाडी सहितले बोल्नु भएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button