तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक बङ्गुर पालनबाट वार्षिक ८ लाख आम्दानी

सल्यान । पैसा कमाउन विदेशिने युवाको जमात पछिल्लो समय बढिरहँदा सल्यानकी एक महिलाले भने व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहनु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ लोलाउनेकी सावित्रा महतराले बङ्गुर पालन गरेर वार्षिक ८ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आइरहनु भएको छ । 

विगतमा थोरै सङ्ख्याबाट बङ्गुर पालन गर्दै आउनु भएकी महतराले २०७४ बाट भने महतरा कृषि तथा पशुपंक्षी फर्म नै दर्ता गरेर व्यावसायिक बङ्गुर पालन थाल्नु भएको हो । आफूसँग अहिले सानो ठूलो गरी ५० वटा बङ्गुर रहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो वर्षको वैशाख र जेठ महिनामा मात्रै ३ लाखको बङ्गुर बिक्री भइसकेको छ । वर्षभरी १२ देखि १४ लाखसम्म आम्दानी हुने अनुमान गरेकी छु ।’ 

गतवर्ष मात्रै ८ लाख भन्दा बढीको बङ्गुर बिक्री भएको उहाँको भनाई छ । मासुका लागि ठुला बङ्गुर भन्दा साना पाठापाठीको माग बढी हुने गरेको महतराले बताउनु भयो । उहाँले भन्नु भयो ‘मासुका लागि भन्दा पनि साना पालनका लागि साना पाठापाठीको माग धेरै हुने गर्दछ । एक जोडी पाठापाठीको ४ हजार देखि ४ हजार ५ सयसम्म बिक्री भइरहेको छ ।’ 

स्थानीय गाउँघरमा पाइने खाद्यान्न तथा बारी तथा जङ्गलमा खेर गइरहेको सिस्नो उपयोग गरेर दाना खुवाउने गरेको उहाँको भनाई छ । 

‘फोहोर बढी गर्ने भएकाले पहिले बङ्गुर पालन गर्न कठिनाई भएको थियो’ उहाँले भन्नु भयो ‘अहिले बानी परी सकेको छ । सरसफाईका लागि सामाग्री प्रयोग गर्दै आइरहेकी छु ।’ 

बङ्गुर व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्ने सोच रहेको उहाँको भनाई छ । कुनै सिजन बिक्रीका लागि केही समस्या हुने भएता पनि बजारीकरणका लागि भने अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको महतराले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button