ज्ञानकूप विद्यालयको एसईई नतिजा उत्कृष्ट, मेधावी विद्यार्थी र शिक्षक सम्मानित
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समग्र नतिजा कमजोर देखिएको बेला धनुषास्थित एक सामुदायिक विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) ले साधारण र प्राविधिक शिक्षातर्फ उल्लेखनीय नतिजा ल्याएको हो। विद्यालयका अनुसार साधारण शिक्षातर्फ सहभागी २१५ विद्यार्थीमध्ये १४६ जना (६८.८२ प्रतिशत) उत्तीर्ण भएका छन्। प्राविधिकतर्फ ४७ जना सहभागीमध्ये ४६ जना (९७.८७ प्रतिशत) ले परीक्षा पास गरेका छन्।

संस्कृत शिक्षातर्फ भने नतिजा अपेक्षित नभएको विद्यालयले जनाएको छ। कुल ४५ मध्ये ५ जना मात्रै उत्तीर्ण भएका छन्। सहायक प्रधानाध्यापक सोमप्रसाद भट्टराईले पाठ्यक्रमको जटिलता र ग्रेड बृद्धि प्रक्रियाका कारण कम नतिजा आएको बताउँदै ग्रेड वृद्धि परीक्षापछि संख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र मेहनती शिक्षकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको हो। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले प्रमाणपत्रसहित विद्यार्थी र शिक्षकलाई सम्मान गर्नुभयो। उहाँले विद्यालयले देखाएको सफलता सराहनीय भएको उल्लेख गर्दै नगरपालिकाले पूर्वाधार विकासमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय मधेशका निर्देशक महेन्द्र महतोले कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार तथा दलित विद्यार्थीका लागि प्रदेश सरकारले आगामी वर्षका लागि १ करोड ५० लाख रुपैयाँ छात्रवृत्तिका लागि विनियोजन गरेको जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्