तपाईँ सुन्दै हुनुहुन्छः

विपद् पूर्व जनधनको सुरक्षा गर्न राष्ट्रियसभाका सांसदहरूको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सरकारले विभिन्न प्रकारका विपद् आउनुपूर्व नै जनधनको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा सांसदहरु युवराज शर्मा, श्रीकृष्णप्रसाद अधिकारी, गोमादेवी तिमल्सिना, सुमित्रा बिसी, रेनु चन्द, पदमबहादुर परियार, मदनकुमारी शाह गरिमा, रुक्मिणी कोइराला र नरबहादुर विष्टले विपद् भनेको उद्धार, राहत र पुनर्स्थापना हो भन्ने सोचेर सरकारी निकायहरूले काम गर्दा वर्षेनी बाढी, पहिरो, चट्याङजस्ता विपदबाट ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो । 

विपद् न्यूनीकरण गर्न सरकारले बजेट छुट्टाएको संसदमा पटक पटक कुरा उठाएर सरकारको ध्यानाकर्षण गराएको भए पनि सरकारको ध्यान जान नसकेको भन्दै सांसदहरुले रसुवाको टिम्मुरेमा छिमेकी मुलुक चिनमा हिमताल फुटेर आएको बाढीमा परी बेपत्ता भएकाहरूको खोजीलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरूले विपद् पूर्व चेतावनी, उद्धार, राहत नीति कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने भन्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँका  बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने बताउनुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा बाढी पहिरोले पुर्याएको क्षति, राहत उद्धार र पुनर्स्थापनाका सम्बन्धमा गृहमन्त्रीसँग आवश्यक छलफल गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button