कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
भोजपुर I यहाँको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ ।
एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरूले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो । ]

विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउँदा पठनपाठनमा असहजता भइरहेको अवस्थामा घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्ले बताउनुभयो । मूलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उहाँको भनाइ छ । नजिककै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरू प्रवेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उहाँको भनाइ छ ।“विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो” उहाँले भन्नुभयो,“विद्यालयको चौरमा गाईबस्तु पसिदिँदा विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरूको प्रवेश हुँदा शिक्षण सिकाईमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पत्तिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।”
घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले रु.दुई लाख बजेट विनियोजन गरेर घेराबारा लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताउनुभयो । विद्यालयसँगै विद्यार्थीको सुरक्षाको लागि अन्य कामलाई थाती राखेर विद्यालयको घेराबारा गरिएको उहाँले भनाइ छ ।“वडामा सीमित बजेट हुन्छ”वडाध्यक्ष शेर्पाले भन्नुभयो,“स्थानीयको माग धेरै छ । घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि अन्य कामलाई थाती राखेर यो काम गरेका हौँ । घेराबारा गरिएपछि विद्यालय सञ्चालनमा सहजता छ ।”
वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उहाँको भनाइ छ । वडाको काममा पारदर्शिता ल्याउन वर्षभरी सञ्चालन भएका काम र भावी दिनमा हुन लागेका योजना लाई स्थानीय भेला गरेर सार्वजनिक सुनुवाईमार्फत जानकारी दिँदै आएको उहाँको भनाइ छ । रासस
प्रतिक्रिया राख्नुहोस्