तपाईँ सुन्दै हुनुहुन्छः

चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालियो

म्याग्दी I म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ । 

पैँतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट,  २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्ड सम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको हो । 

नेपाल विद्युत् प्राधिकरण मार्फत रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधीन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रुपमा राहुघाटको स्वीचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रवर्द्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिनुभयो । 

चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् । 

चिमखोला देखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले जानकारी दिनुभयो । परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत् जोडिने उहाँले बताउनुभयो । चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् । 

चार  आयोजनाले सहकार्य गरेर एउटै प्रसारण लाइन मार्फत विद्युत् आपूर्ति गर्ने संरचना बनाएका छन् । एकदेखि अर्को आयोजनाको स्वीचयार्ड सम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रसारण लाइन बनाएका हुन् । 

परीक्षण शुरु भएको प्रसारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले आज एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रसारण लाइन र टावर निर्माण भएको छ । 

विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button