तपाईँ सुन्दै हुनुहुन्छः

थबाङबाट सम्पर्कविहीन रहेका सबै सात कर्मचारी सकुशल सम्पर्कमा

रुकुम पूर्व। रोल्पाको थबाङ गाउँपालिकाबाट सम्पर्कविहीन रहेका सातै जना कर्मचारी हिजो रातिदेखि सकुशल सम्पर्कमा आएका छन्।

केही दिनअघि रुकुम पूर्वतर्फ कामको सिलसिलामा निस्किएका उनीहरू टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार हिजो राति १० बजे प्रमुख प्रशासकीय अधिकृतसँग फोन सम्पर्क भएको थियो। “उहाँहरूले हामी सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नुभयो। आज बिहान पनि फेरि सम्पर्क भएको छ,” प्रजिअ दाहालले जानकारी दिनुभयो।

सम्पर्कमा आएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खा.पा.स.टे. शिवकुमार वली र सवारी चालक प्रदीप केसी छन्।

थबाङ गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएको थियो। अहिले उनीहरू सबै सम्पर्कमा आएका र थबाङतर्फ फर्किँदै गरेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button