पोखराको आकाशमा सोलो प्याराग्लाइडिङ पुनः उड्ने, व्यवसायीहरू उत्साहित

कास्की । पोखरामा रोकिएको करिब तीन वर्ष अघि देखि प्याराग्लाइडिङको सोलो उडान पुनः सुचारु हुने भएको छ ।
तीन वर्ष अघि भएको एक दुर्घटना पछि बन्द भएको सोलो प्याराग्लाइडिङ उडान नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले सुरक्षालाई विशेष ध्यान दिँदै पुनः सुचारु गर्न लागेको हो । प्याराग्लाइडिङका लागि विश्वकै दश उत्कृष्ट गन्तव्य मध्येको एक पोखरा सोलो उडान नहुँदा बर्सेनि करोडौँ राजश्व गुम्नुका साथै प्याराग्लाइडिङका प्रतिस्पर्धाहरू समेत ठप्प रहेका थिए ।
व्यावसायिक उडानका लागि व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष अनिल केसीले सोलो उडान सुरु हुने घोषणाले उत्साह ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो –“तीन वर्ष देखि सबै ठप्प थियो । खेलाडी उत्पादन हुन सकेको थिएन । १९ औँ एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडीहरू समेत विदेशमा गएर खेल्न बाध्य थिए । अब क्यानले पुनः सुचारु गर्ने भए सँगै उत्साह छाएको छ ।”
साउनको पहिलो साताबाट सोलो उडान सुरु गर्ने अध्यक्ष केसीले जानकारी दिनु भयो । –“हामी सँग लाइसेन्स प्राप्त ४ सय पाइलट छन् । २४० जना त प्रत्यक्ष प्याराग्लाइडिङको रोजगारमा आवद्ध छन् । उनीहरूको व्यावसायिक उडान सँगै सोलो उडानले नेपाली आकाशमा प्याराग्लाइडिङ खेल स्थापित हुनेछ भने विदेशी सोलो प्याराग्लाइडर्सहरुलाई समेत आकर्षण गर्ने बताउनुभयो ।
सोलो उडान नहुँदा हरेक वर्ष हुँदै आएको विश्वकप प्याराग्लाइडिङ तथा दक्षिण एसियाली स्तरका प्याराग्लाइडिङ प्रतियोगिताहरू आयोजना हुन सकेका थिएनन् । अब सोलो उडान खुले सँगै ती प्रतियोगिताहरूले समेत स्थान पाउने भएका छन् । स्मरणीय के छ भने पोखरामा सम्पन्न दशौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाबाट सहभागी निशिम थापा मगरको दुर्घटनामा निधन भए सँगै पोखरमा क्यानले अनिश्चित समयका लागि भन्दै सोलो उडान बन्द गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्