तपाईँ सुन्दै हुनुहुन्छः

आजको प्रतिनिधिसभा बैठकमा छलफल भएका विषयहरू ‘श्रम पोर्टलदेखि रसुवागढीको बाढीसम्म’

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले सरकारले सञ्चालन गरेको श्रम संसार पोर्टलले रोजगारदाता र रोजगार लिनेहरुबीचमा मध्यस्थताको काम गरेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले मुलुकमा उपलब्ध भएका रोजगारीका अवसरहरू पहिचान गरी बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्न यो पोर्टलले ऐतिहासिक काम गरेको बताउनुभयो । 

सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूले विभिन्न संस्थाका माध्यमबाट गरेका कामको सम्मान गरेको मन्त्री भण्डारीले बैठकलाई जानकारी गराउनुभयो । 

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चीन सरकारको सहयोगमा रसुवागढीमा निर्माणाधीन सुख्खा बन्दरगाह आज राती आएको बाढीले क्षतिग्रस्त बनाएकाले क्षतिको मूल्याङ्कन गरी सरकारले पुन निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

कमजोर अर्थतन्त्र हुँदाहुँदै पनि नेपालमा उपभोग्य तथा विलासी बस्तुको आयात बढेको भन्दै मन्त्री भण्डारीले विलासी बस्तुहरूको आयातमा अस्थायी प्रतिबन्ध लगाउन सकिने बताउनुभयो । 

त्यसैगरी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालगन्जको महिला क्रिकेट रंगशाला निर्माणका लागि सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै एक वर्षभित्र रंगाशाला निर्माण सम्पन्न गरिसक्ने जानकारी गराउनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संवैधानिक परिषद् सम्बन्धि विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावमाथि पनि सामान्य छलफल भएको छ ।  

प्रतिनिधिसभाको अर्को बैठक असार २५ गते बुधबार भोलि दिउसो १ बजे बस्नेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button