जस्ताले छाइँदै माटो–ढुङ्गाका घर, संकटमा परम्परागत शैली

मुगु । कर्णालीका पहाडी गाउँमा सदियौंदेखि बनाइँदै आएका माटो र ढुङ्गाका परम्परागत घरहरू अहिले जस्ता पाताले छाइँदै मौलिकता गुमाउँदै गएका छन्। काठका झ्याल, माटोले लिपपोत गरिएका भित्ताहरू, र काठकै छानाबाट बनेका घरहरू आधुनिकता र सहजताको नाममा परिवर्तन हुँदै गएका हुन्।
पहिले यस्ता घरहरू मौसमअनुकूल, वातावरणमैत्री र गाउँको सांस्कृतिक पहिचानका रूपमा चिनिन्थे। तर पछिल्ला वर्षहरूमा छाना छाउन जस्ता पाताको प्रयोग बढेसँगै यिनको मौलिक रूप नै हराउँदै गएको छ।
स्थानीय पर्यटन व्यवसायी विरेन्द्र बहादुर मल्ल भन्छन्, “पहिले घरको स्वरूपमै गाउँको संस्कृति झल्किन्थ्यो, अहिले जस्ता पाताले छाएर चिनिनै नसकिने भएको छ।” जस्ताले पानीबाट जोगाउने सजिलो उपाय त भएको छ, तर यिनकै कारण गाउँका परम्परागत बस्तीहरू एकै प्रकारका रङ्गिन घरले भरिएका दृश्यमा बदलिँदै गएको उनले बताए।

छायाँनाथ रारा नगरपालिका–३ का शिक्षक रंगबहादुर कार्कीका अनुसार जस्ताले घरको ताप–न्यानोपन सन्तुलनमा समेत असर पार्दै आएको छ। “पहिला माटाका छाना हुँदाका घरहरू गर्मीमा चिसो, जाडोमा न्यानो हुने गर्थे। तर अहिले जस्ताले गर्मीमा अत्यधिक तातो, वर्षामा आवाज बढी, र जाडोमा चिसो महसुस हुने समस्या देखिएको छ,” कार्कीले बताए।
परम्परागत घरहरू संरक्षण गर्नुपर्ने आवाज उठिरहे पनि सरकारी तहबाट कुनै प्रभावकारी प्रयास नभएको स्थानीय सञ्चारकर्मी हरिकृष्ण ऐडीको भनाइ छ। “परम्परागत छानाले घरको सम्पूर्ण आत्मा बोक्थ्यो, अहिले छानै फेरिँदा त्यो आत्मा हराएको महसुस हुन्छ,” उनले भने।

मुगु पर्यटनको सम्भावना बोकेको जिल्ला भएकाले यहाँका घर, भाषा, लवाइखवाइ र जीवनशैली जोगाउन सम्बन्धित निकाय गम्भीर हुनु आवश्यक छ। स्थानीय, प्रदेश तथा संघीय सरकारले समयमै नीति नल्याए आजका परम्परागत घरहरू भविष्यमा केवल तस्वीरमा सीमित हुने खतरा देखिएको छ।
प्रतिक्रिया राख्नुहोस्